काठमाडौं । टिकटकबाट मोडलिङमा प्रवेश गरेकी उषा उप्रेती अहिले म्यूजिक भिडियोकी डिमाण्डेट मोडल हुन् ।
छोटो छ जिन्दगी लगायतका दर्जनौं म्यूजिक भिडियोहरुमा उनले अभिनय गरिसकेकी छिन् । टिकटकमा रुचाइएकी उषा चर्चित हाँस्य टेलिश्रृंखला सक्किगो नि का केही एपिसोडमा देखिएपछि थप चर्चामा आएकी थिइन् । त्यसपछि म्यूजिक भिडियोमा खेल्न थालेकी उनी अहिलेकी व्यस्त कलाकारमा पर्छिन् ।
तर शुरुवाती समयमा उनले आफूले पनि केही दुव्र्यवहार खेप्नुपरेको खुलासा गरेकी छिन् । त्यसो त अहिले पनि काम गरिसकेको लामो समयसम्म पनि धेरै निर्देशकहरुले आफ्नो पारिश्रमिक नदिएर आर्थिक शोषण गरेको उनले सामाजिक सञ्जालमार्फत नै सार्वजनिक गरेकी थिइन् । यसैबीच उनले आफ्नो करियरको शुरुवाती समयमा यौनजन्य दुव्र्यवहार समेत खेप्न परेको बताएकी छिन् । एउटा युट्युव च्यानलका लागि दिएको पछिल्लो अन्तवार्तामा उनले शुरुवाती समयमा केही त्यस्ता दुव्र्यवहार खेप्नुपरेको बताएकी छिन् । उनले भनेकी छिन्–'त्यतिखेर म नयाँ थिएँ । एउटा म्यूजिक भिडियोमा पुरुष कलाकार पनि मजस्तै नयाँ नै थिए । एउटा दृश्यमा उसले मलाई बोकेर उचाल्नुपर्ने दृश्य थियो । पहिलो टेक सहजरुपमै भयो तर प्राविधिक रुपमा फेरि टेक लिनपर्ने भयो । '
उनले अगाडि थपिन्–'जब दोस्रोपटक हामी टेक दिइरहेका थियौं, ती साथीले उसको दुवै हत्केला सार्दै ल्याएर मेरो छातीतिर ल्याइपुर्यायो । मलाई उसको त्यो छुवाइ सही हो भन्ने लागेन । अनि तुरुन्त प्रतिकार गरें ।' उनी सम्झन्छिन्–'त्यतिखेर सेटमै केहीबेर तनाव नै भएको थियो । ती साथीले गलत मनाशय थिएन भनेर सरी त भने, तर मलाई उनको त्यो छुवाइ सही थियो भन्ने अहिले पनि लाग्दैन ।'
ग्ल्यामर क्षेत्रमा फाइदा उठाउन खोज्ने मान्छेहरु केही भएको स्वीकार्दै उनले भनिन्–'आफू ठीक भए, कसैले केही गर्न सक्दैन । तर गलत कामलाई सहनु हुँदैन ।'
आफूमाथि गलत काम भइरहेको छ भने तुरुन्त प्रतिकार गरिहाल्नुपर्ने उनको भनाइ छ ।
उषालाई ग्ल्यामर क्षेत्रमा सँगै काम गरेको आधारमा अरुसँग नाम जोडिहाल्ने प्रवृत्ति फिटिक्कै मन पर्दैन । विगतमा आफ्नो पनि त्यसरी नाम जोडिदिएकोमा उनी असन्तुष्टि पोख्छिन् । उनी भन्छिन्–'म यो ग्ल्यामर फिल्डमा काम गर्न आएकी हूँ, कसैको गर्लफ्रेण्ड बन्न होइन । त्यसैले न म हिजो कसैको गर्लफ्रेण्ड थिएँ, न अहिले नै छु । कसैको भएछुँ भने म आफैं निर्धक्क मिडियामा आएर सार्वजनिक गर्नेछु ।'