काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट आत्मनिर्भर अर्थतन्त्रमा केन्द्रित हुने बताउनुभएको छ ।
प्रतिनिधिसभाको मंगलबार बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै अर्थमन्त्री शर्माले आयात घटाउने, निर्यात प्रवर्द्धन गर्ने र आत्मनिर्भर अर्थतन्त्र विकासमा बजेट केन्द्रित हुने जानकारी गराउनुभएको हो ।
आत्मनिर्भर अर्थतन्त्रका लागि विदेशी लगानी प्रोत्साहन गर्ने, निजी क्षेत्रमैत्री नीति ल्याउने, करको दायरा विस्तार गर्ने, कृषिजन्य वस्तुको उत्पादनमा सघाउ पुर्याउने, कजार पहुँच विस्तार गर्नेलगायत नीति ल्याउने शर्माले बताउनुभयो ।
स्वदेशी उद्योगको प्रवर्धन, राष्ट्रिय गौरव र राष्ट्रिय प्राथमिकता प्राप्त क्षेत्रमा स्रोतको सुनिश्चितता, अनुत्पादक क्षेत्रको खर्च कटौती, प्रविधिमैत्री सेवा प्रवाहलगायत विषयलाई बजेटले सम्बोधन गर्ने मन्त्री शर्माको भनाइ छ।
खेतीयोग्य जमिनको उपयोग, सामूहिक खेती प्रणाली, औद्योगिक ग्राम, ठूला पूर्वाधार, द्रुतमार्गलगायतमा बजेटले प्राथमिता दिनेछ। स्थानीय तहको केन्द्रसम्म बाह्रै महिना चल्ने सडक, प्रसारण लाइन, लघु तथा मझौला जलविद्युत् आयोजना निर्माणलाई बजेटमार्फत सम्बोधन गरिने अर्थमन्त्रीले बताउनुभयो ।