काठमाडौँ । काठमाडौँ महानगरपालिकामा नेकपा ९एमाले० तर्फका मेयर पदका उम्मेदवार केशव स्थापितले आफू निर्वाचित भएमा युवाका लागि छुट्टै योजना ल्याउने बताउनुभएको छ ।
उहाँले युवाहरुलाई जीवनको कथा हाल्ने एक सय वटा स्थान निर्माण गरिदिने बताउनुभएको छ । आफू पहिलो पटक मेयर हुँदा भर्खर जन्मिएका बच्चा अहिले आफ्ना मतदाता बनेको उल्लेख गर्दै स्थापितले युवाहरु आफ्नो केन्द्रमा रहेको बताउनुभयो । काठमाडौंमा युवामैत्री संरचनाको अभाव रहेको स्थापितको भनाइ थियो । सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै स्थापितले भने, ‘आफ्नो जीवनबारे गफ गर्ने युवाहरुका लागि काठमाडौँमा ठाउँ नै छैन । म युवाहरुलाई जीवनको कथा हाल्ने एक सय वटा स्थान निर्माण गरिदिन्छु ।’
उहाँले नयाँ पुस्ताका लागि आधार तयार गरिदिने योजना पनि आफूसँग रहेको बताउनुभयो । ‘पहिलाको राजदरबारको वरीपरी लगाएको पर्खाल मात्रै तोड्न सकियो भने त्यहाँ भित्रको हरियाली चौर र बगैँचा देखेर युवाहरु प्रफुल्ल हुन्छन्,’ स्थापितले भने, ‘त्यहाँ योजना बनाएर राज्यको सहित संरक्षणमा बत्ती नै बत्ती, पानी नै पानीको फोहोरा भएको बालबालिका, युवा र जेष्ठ नागरिक पार्क निर्माण गर्न सकिन्छ ।’
स्थापितले आफू मेयर निर्वाचित भएपछि केशर महलको वरीपरीको पर्खाल भत्काएर त्यहाँ पनि खुला ठाउँ निर्माण गर्ने योजना रहेको बताउनुभयो । ‘युवाहरु साँझपख त्यहाँ आउँछन्, टहलिन्छन्, आइसक्रिम खान्छन्, गफगाफ गर्छन् र मुहारमा मुस्कान छर्दै आहा काठमाडौँ महानगर भन्दै खुशी हुन्छन् । यस्ता पार्क सहरभरी धेरै स्थानमा बनाउन सकिने उहाँको भनाइ छ । यस्तै स्थापितले युवाहरुलाई प्रोस्ताहन गर्न विश्वस्तरीय २० वटा जीम हल स्थापना गर्ने र अर्वन पार्क निर्माण गर्ने योजना पनि सुनाउनुभएको छ ।
युवाहरुलाई उनीहरुको योग्यता, क्षमता र रुचि अनुसारको जिम्मेवारी दिएर अगाडि बढाउन सक्ने क्षमता पनि आफूसँग भएको उहाँले बताउनुभयो ।