काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले बुधबारदेखि स्थानीय तह निर्वाचन केन्द्रित गरेर देशका विभिन्न सहरमा खुला चुनावी सभा गर्दैछ ।
कांग्रेसले बुधबारदेखि आगामी बैशाख २७ गते सम्म देशका प्रमुख १० शहरमा चुनावी सभा आयोजना गर्ने भएको हो । चुनावी सभालाई कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासहितका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको निर्णय अनुसार देशका सातै प्रदेशका विभिन्न सहरमा खुला सभा गर्ने तयारी छ । बुधबार विराटनगरमा सभा हुनेछ । उक्त सभामा सभापति देउवा, नेता रामचन्द्र पौडेल र महामन्त्री विश्वप्रकाश शर्माले सम्बोधन गर्नु हुनेछ । साथै पर्सी विहीबार चितवनमा हुने सभालाई सभापति देउवा, नेता पौडेल, सहमहामन्त्री महालक्ष्मी उपाध्याय लगायतका नेताले सम्बोधन गर्नुहुनेछ । वैशाख २३ मा काठमाडौंमा हुने चुनावी सभालाई सभापति देउवा, नेता पौडेल र अन्य नेताहरुले सम्बोधन गर्नुहुनेछ । वैशाख २४ मा बुटवलमा हुने सभामा सभापति देउवा, नेता पौडेल, महामन्त्री गगन थापालगायत वक्ता रहनुहुनेछ ।
यस्तै वैशाख २४ मै तनहुँको दमौलीमा हुने सभालाई सभापति देउवा, नेता पौडेल, प्रवक्ता प्रकाशशरण महत लगायतले संबोधन गर्ने कांग्रेसले जनाएको छ । वैशाख २४ मा जनकपुरमा पनि सभा हुनेछ । सभालाई सभापति देउवा, नेता पौडेल, सहमहामन्त्री भीष्मराज आङ्दम्बे, महेन्द्र यादव लगायतले सम्बोधन गर्नू हुनेछ । वैशाख २५ मा पोखरामा हुने सभालाई सभापति देउवा, नेता पौडेल, उपसभापति धनराज गुरूङ, सहमहामन्त्री जीवन परियार लगायतका नेताले सम्बोधन गर्ने कांग्रेसले जनाएको छ । साथै वैशाख २५ मै दाङको तुलसीपुरमा हुने सभामा सभापति देउवा, नेता पौडेल, सहमहामन्त्री किशोरसिंह राठौर लगायतका अन्य वक्ताहरू रहनु हुनेछ ।
वैशाख २६ गते कैलालीको धनगढीमा हुने सभामा सभापति देउवा, नेता पौडेल, सहमहामन्त्री फरमूल्लाह मंसुरलगायत अन्य वक्ताहरूले सम्बोधन गर्ने तालिका छ । साथै वैशाख २७ गते डडेल्धुरामा सभा हुनेछ । त्यहाँ सभापति देउवा, नेता पौडेल, सहमहामन्त्री बद्री पाण्डेले सम्बोधन गर्ने कार्यक्रम छ ।