काठमाडौं । नेकपा एमाले गोकर्णेश्वर नगरपालिका वडा नम्बर पाँचले औपचारिक चुनाव प्रचार प्रसार अभियान शुरु गरेको छ ।
चुनाव प्रचार प्रसारका लागि एक साता अघि नै नयाँबस्ती, बुद्धचोक र नारायणटारको इष्टपोल स्कूल अगाडि कार्यालय समेत स्थापना गरिसकेको एमालेले सोमवारबाट औपचारिक घरदैलो अभियान शुरु गरेको हो । सोमवार विहान ६ः३० बजेबाट शुरु भएको घरदैलो कार्यक्रमका क्रममा बञ्चरेटार,समावेशी टोल र सुगमनगर टोलका मतदाताहरुको घरदैलोमा पुगेर मतदानको अपिल गरिएको थियो । त्यसक्रममा स्थानीय मतदाताले स्थानीय निर्वाचनमा दलगत भन्दा पनि स्थानीय आवश्यकताका आधारमा मत दिने बताएका थिए । स्थानीय र जनताका मतजित्ने कार्यक्रम र योजना एमालेले मात्र ल्याउने भएकोले यसपटक पनि आफूहरुले एमाले नै रोज्ने आश्वासन दिएको एमाले वडा नम्बर ५ कमिटीका अध्यक्ष इन्द्रप्रसाद चौंलागाईले बताउनुभयो ।
घरदैलो कार्यक्रममा वडाध्यक्षका उम्मेदवार ताराकुमारी सिंखडा पुडासैनीसहित सदस्य उम्मेदवारहरु मन्दिरा रायमाझी,सावित्री नेपाली,मनोहर थापा र मुकुन्द फुँयाल सहभागी हुनुहुन्थ्यो । यस्तै वडा कमिटीका पदाधिकारीहरुसहित विभिन्न टोल कमिटीका पदाधिकारी र शुभेच्छुकहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
सोमवार नै साँझ ६ बजे नयाँ बस्तीको ग्रीनभ्याली कोलोनीमा मेयर उद्धव विष्ट,उपमेयर सान्नानी लामासहितका उम्मेदवारहरुको परिचयात्मक कार्यक्रम राखिएको अर्घौतेश्वर टोल कमिटीका इञ्चार्ज प्रेमबहादुर कार्कीले बताउनुभयो । गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ मा २०७४ सालको निर्वाचनमा वडाध्यक्षवाहेक चारैजना सदस्यमा नेकपा एमाले निर्वाचित भएको थियो । यसपटक बदलिदो राजनीतिक परिदृश्य, एमालेको लोकप्रियता, एकमात्र महिला उम्मेदवारजस्ता आधारहरुले जित सुनिश्चत रहेको वडा कमिटीका सचिव तथा चुनाव प्रचार प्रसार कमिटीका संयोजक सुमित्रा दंगालको भनाइ छ ।
वडा नम्बर ५ कमिटीले ३२ बुँदे प्रतिवद्दता पत्र समेत सार्वजनिक गरेको छ । प्रतिवद्दता पत्रमा अबको ५ वर्षमा काठमाडौंकै नमूना वडा बनाउने परिकल्पना गरिएको छ ।
यसैबीच वडा नम्बर ५ मा मंगलवार मेयर र उपमेयरसहितको वृहत घरदैलो कार्यक्रमको आयोजना गर्ने कार्यक्रम तय भएको अध्यक्ष चौंलागाईले बताउनुभयो । उक्त कार्यक्रममा तीन सय जनाभन्दा बढीको सहभागीता रहने अपेक्षा गरिएको उहाँको भनाइ छ ।
सोमवार नै नेपाली काँग्रेसले पनि नयाँवस्ती क्षेत्रमा मेयरका उम्मेदवार दीपक रिसाल, उपमेयरका उम्मेदवार शान्ति नेपाल र वडाध्यक्षका उम्मेदवार नारायणबहादुर सुवेदीसहितको घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।