काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आइतवारबाट उम्मेदवारको मनोनयन दर्ता शुरु भएको छ ।
तर नेकपा एमालेले अधिकांश ठाउँमा अझै उम्मेदवारको टुङ्गो लगाउन सकेको छैन । आकांक्षी धेरै हुँदा कतिपय पालिकामा वडा सदस्यसम्म टुङ्गो लगाउन हम्मे हम्मे परेको छ ।
तर काठमाडौं महानगरपालिकाको उपमेयरमा एमालेले पार्टी इत्तरका युवा सञ्चारकर्मी सुनिता डंगोललाई टिकट दिएर सबैलाई आश्चर्यमा पारेको छ । स्वतन्त्र रुपमा मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी सुनितालाई अन्ततः एमाले अध्यक्ष केपी शर्मा ओलीले टिकट दिएपछि उनको उम्मेदवारीलाई लिएर चर्चा परिचर्चा शुरु भएको छ । एमालेबाट टिकट पाएपछि खुशी व्यक्त गर्दै सुनिताले आफ्नो उम्मेद्वारीले युवा र महिलाको भावना प्रतिनिधित्व गर्ने बताउनुभएको छ । एमालेको निर्णयपछि डंगोलले यसलाई राजनीतिमा आफ्नो पहिलो खुड्किलो भएको बताउनुभएको छ ।
आइतवार बक्तव्य जारी गर्दै उहाँले उपमेयर पदमा आफ्नो उम्मेद्वारीले युवा, महिला र सामाजिक–सांस्कृतिक अभियान्ता लगायत काठमाडौंबासीको भावना सम्बोधन भएको उल्लेख गर्नुभएको छ । एमालेले आफूलाई दिएको टिकट युवाहरुलाई उपहार प्रदान गरेको अवसरका रुपमा लिएको उहाँले उल्लेख गर्नुभएको छ ।
‘‘सवैभन्दा ठूलो पार्टीले मलाई विश्वास गरेर उपमेयरको जिम्मेवारी दिनु भनेको मलाई मात्रै होइन, युवा, महिला, सामाजिक–सांस्कृतिक अभियान्ता लगायत सम्पूर्ण काठमाडौंबासीहरुको भावना सबैको प्रतिनिधित्व हुनेगरी युवाहरुलाई उपहारको रुपमा प्रदान गरेको अवसर हो भन्ने मैले ठाँनेकी छु’, डंगोलले लेख्नुभएको छ ।
पूर्व मिस नेवाः रहिसक्नुभएकी सुनिता सञ्चारकर्मी पनि हुनुहुन्छ । साथै उहाँ नेपाल भाषाको मौलिक लिपि रञ्जना लिपि सरंक्षण अभियानको अभियान्त समेत हुनुहुन्छ ।