काठमाडौं । नेकपा एमालेले गोकर्णेश्वर नगरपालिकाको मेयर पदका लागि तीनजनाको नाम सिफारिस गरेको छ ।
सर्वसम्मत उम्मेदवार टुङ्गो लगाउन नसकेपछि नगर कमिटीले तीनजनाको नाम सिफारिस गरेको हो । मेयरमा नाम सिफारिस हुनेमा उद्धव बिष्ट, पुन्य चौलागाई र हरिकृष्ण श्रेष्ठ हुनुहुन्छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि तीनैजना आकांक्षी हुनुहुन्थ्यो तर अन्त्यमा चौंलागाईलाई उठाइएको थियो । उहाँ नेपाली काँग्रेसका उम्मेदवारसँग थोरै मतले पराजित हुनुभएको थियो । यसपटक मेयरमा सिफारिस बिष्ट नगर कमिटी अध्यक्ष हुनुहुन्छ भने श्रेष्ठ लामो समयदेखि शिक्षण क्षेत्रमा संलग्न पूराना नेता हुनुहुन्छ ।
यस्तै उपमेयरमा सान्नानी लामा र शान्ति श्रेष्ठको नाम सिफारिस भएको छ । श्रेष्ठ यसअघिको स्थानीय तह निर्वाचनमा पनि उपमेयरको उम्मेदवार हुनुहुन्थ्यो ।
नगरपालिकामा रहेका ९ वटा वडामध्ये १, २,४,७ र ८ मा वडाध्यक्षसहित सबै पदमा सर्वसम्मत उम्मेदवार चयन भएका छन् । यस्तै वडा नम्बर ३, ५ र ६ मा पनि दलित महिला उम्मेदवार सर्वसम्मत भएका छन् । सर्वसम्मत हुनेमा वडा नम्बर १ को वडाध्यक्षमा द्धारिका श्रेष्ठ, २ मा मधु तामाङ, ४ मा श्रीकृष्ण श्रेष्ठ, ७ मा केशव गुरुङ र ८ मा कल्पना राचल रहनुभएको छ ।
बाँकी वडाहरुमा पनि सर्वसम्मत उम्मेदवार चयनका लागि अन्तिम समयसम्म पहल गर्न माथिल्लो नेतृत्वले आग्रह गरेको वडा नम्बर ५ का वडा कमिटी अध्यक्ष इन्द्रप्रसाद चौंलागाईले बताउनुभयो । तर आकांक्षी धेरै रहेका कारण सर्वसम्मतको समभावना भने न्यून रहेको उहाँको भनाइ छ । तर माथिबाट हुने निर्णयलाई सबै आकांक्षीले सहर्ष स्वीकार्ने प्रतिवद्दता व्यक्त गरेको पनि उहाँले जानकारी दिनुभयो ।