हाड–जोर्नीसम्बन्धी समस्या धेरैले भोगेका हुन्छन्, जसमध्ये कतिपय भ्रमपूर्ण उपचारमा अल्मलिन्छन् । आफूखुशी क्याल्सियम, भिटामिड ‘डी’ खानाले मिर्गौला र मुटुमा असर गरेको पत्तै हुँदैन । जोर्नी दुखेकोमा तातोले सेक्नुपर्छ भन्ने धेरैमा भ्रम छ । कतिपयलाई गेडागुडी खाएर जोर्नी दुख्यो भन्ने भ्रम छ । केही मानिस खानाभन्दा औषधि नै सही हो भन्ने भ्रममा महँगा सप्लिमेन्टहरु खाइरहेका छन् । कोही विज्ञापनको भर परेर हड्डी खिइएकोमा तेल मालिसको भ्रममा छन् भने कतिपयचाहिँ सामान्य औषधि, व्यायाम र जीवनशैली परिवर्तनले हुने उपचारमा पनि अपरेसन नै गर्नुपर्ने चंगुलमा परिरहेका छन् । जोर्नी दुख्ने समस्यामा मानिसहरुले कस्ता भ्रम पालिरहेका छन् र सही उपचार के हुन सक्छ ? के जोर्नी दुख्दैमा अपरेसन नै गर्नुपर्ने, प्रत्यारोपण नै गराइहाल्नुपर्ने हुन्छ त ?
यससम्बन्धमा ह्याम्स अस्पतालको हाड–जोर्नी तथा ट्रमा विभागका प्रमुख (जोर्नी प्रत्यारोपण विशेषज्ञ) डा. भाष्करराज पन्तसँग कुराकानी गरी यो लेख तयार गरिएको छ । जोर्नी प्रत्यारोपणमा एक वर्षे फेलोसिप (अमेरिका) गरेर नेपालमा दर्ता हुने पहिलो अर्थोपेडिक सर्जन डा. पन्त यस किसिमको फेलोसिप गर्ने नेपालका थोरै अर्थोपेडिक सर्जनमध्ये पर्नुहुन्छ । हाड–जोर्नी उपचार, भ्रम र यथार्थताका सम्बन्धमा उहाँका विचार आफ्नै शब्दमा :
जोर्नी प्रत्यारोपण भनेको के हो ?
‘शरीरका जोर्नी चल्नका लागि हड्डीहरुको बीचमा कुरकुरे हड्डी आदि हुन्छ, जसले कुसनको काम गर्छ । घुँडाको कुरा गर्ने हो भने त्यहाँ लिगामेन्ट हुन्छ, मिनिस्कस, कुरकुरे हड्डी हुन्छ । जब चोट वा बाथ वा उमेर अनुसार हाड खिइने क्रमको कारणले कुरकुरे हड्डीले काम गर्न सक्तैन, त्यो बेला जोर्नी चल्नका लागि अपरेसनमार्फत कृत्रिम वस्तु राखिन्छ । यस प्रक्रियालाई जोर्नी प्रत्यारोपण भनिन्छ ।
हाम्रो समाजमा कतिपयले जोर्नी प्रत्यारोपण पनि मिर्गौला प्रत्यारोपणजस्तै अर्काको झिकेर राख्ने हो कि भनेर सोच्ने गरेको पाइन्छ तर कसैको जोर्नी ल्याएर हाल्ने होइन । जोर्नी पहिलेको जस्तो चल्ने बनाउन खिइएकोे भाग निकालेर कृत्रिम वस्तु राख्ने हो । यो विभिन्न किसिमका धातुबाट बनाइएको हुन्छ । बीचमा चाहिँ कुरकुरे हड्डीजस्तै सेतो देखिने तत्व (वासर) राखिन्छ । यसले गर्दा जोर्नी चल्न सजिलो हुन्छ । यो तत्व एक्सरेमा देखिँदैन, धातुचाहिँ देखिन्छ । यसले गर्दा एक्सरेमा पहिलाको जस्तै बीचमा ग्याप देखिन्छ ।
दुख्दैमा जोर्नी प्रत्यारोपण गर्नुपर्दैन
अधिकांश जोर्नी दुखाइमा प्रत्यारोपण आवश्यकता पर्दैन । जोर्नी दुखेर उपचारमा आएको बिरामीको एक्सरे, एमआरआई रिपोर्ट हेरेर मात्र प्रत्यारोपण गर्नुहुँदैन ।डाक्टरले एक्सरे मात्र हेर्ने र बाँकी पाटोहरु नबुझ्ने हो भने बिरामीको सही उपचार हुँदैन ।
बिरामीको घुँडा लुज छ कि छैन, अड्किन्छ/अड्किँदैन, आवाज आउँछ/आउँदैन, त्यो हेर्नुपर्छ । अरु विभिन्न रोगका कारणले पनि जोर्नी दुखेको हुन्छ । त्यसको जाँच गरेर पहिला उपचार गर्नुपर्छ । बिरामीको दैनिक जीवनशैली, मोटोपनको अवस्था, लगाएको जुत्ता, खानपान आदिबारे जानकारी लिएर आवश्यकता अनुसार सुधार गराउनुपर्छ ।
यसबाट नै जोर्नी दुखाइ कम हुँदै गयो भने जोर्नी प्रत्यारोपण गर्नुपर्दैन । तर ठीक भएन, जोर्नी बिग्रिँदै गयो, खिइएको पनि तेस्रो चरणमा पुगिसकेको छ, दैनिक जीवन चलाउन नै गाह्रो भएर ह्वील चेयर नै चाहिने, ओछ्यानमा नै पर्न थालेको अवस्था छ भनेचाहिँ जोर्नी प्रत्यारोपण गर्नुपर्छ ।
जोर्नी प्रत्यारोपणको आवश्यकता सामान्यतया बढी उमेरको मानिसलाई पर्ने भए तापनि विभिन्न कारणले गर्दा कम उमेरमै पनि पर्न सक्छ । हामीले बढीमा ९८ वर्षको र कम उमेरमा २२ वर्षको युवाको जोर्नी प्रत्यारोपण गरेका छौँ । उक्त युवाले कुनै रोगको कारण स्टेरोइड समूहको औषधि खानुपरेको थियो ।
शायद त्यसै कारण उसको हड्डी भित्रभित्रै मक्कियो र उसको हिपको जोर्नी फेर्नुपर्यो ।विनाकारण पनि हड्डी मक्किन सक्छ तर स्टेरोइड समूहका औषधिले बढी मक्किने गर्छ । हाम्रो बजारमा विनालेवलका आयुर्वेदिक वा अरु कुनै नामका धूलो, गोली, झोल आदि स्वरुपका औषधिहरु निर्बाध बिक्री हुन्छन् ।
जडीबुटी, आयुर्वेदिक भनिए पनि तिनमा एलोपेथिक अन्तर्गतको स्टेरोइड औषधिको मात्रा अत्यधिक पाइएको औषधि व्यवस्था विभागबाट परीक्षण गराउँदा प्रमाणित भएको छ । यस्ता औषधिले पनि थाहा नपाई मानिसको हड्डी कमजोर बनाएको हुन्छ ।
श्वासप्रश्वाससम्बन्धी (COPD) रोग, बाथको रोगका लागि पनि स्टेरोइड समूहको औषधि प्रयोग गरिएको हुन्छ । उनीहरुको पनि हड्डी मक्किएको हुन्छ । यस्ता बिरामीलाई त्यस्ता औषधि लेख्ने डाक्टर आफैँले वा सम्बन्धित डाक्टरलाई रिफर गरेर अस्टियोपोरोसिसको उपचार पनि सँगसँगै गर्नुपर्छ । त्यस्तै कुनै कारणले पाठेघर झिकिएको छ भने गाइनोक्लोजिस्टले सम्बन्धित चिकित्सकसँग परामर्श गरेर हर्मोनल ब्यालेन्स गराउनुपर्छ । यसो नगर्दा भविष्यमा जोर्नी प्रत्यारोपणको आवश्यकता पर्ने हुन सक्छ ।
इन्फेक्सन, ट्युमरले र स्त्रीहरुमा मेनोपोजको कारणले पनि जोर्नी बिग्रिन सक्छ । त्यस्तोमा पनि जोर्नी प्रत्यारोपण गर्ने गरिन्छ । बाथ (रिमोट्रोइड अर्थराइटिस) भएका बिरामीमध्ये कसैलाई उपचार गर्दागर्दै र कसैलाई उपचार नपाएर पनि हाड–जोर्नीसम्बन्धी समस्या हुन सक्छ । यो रोगले छिट्टै जोर्नी खाने भएकाले कम उमेरमै जोर्नी प्रत्यारोपण गर्नुपर्ने हुन सक्छ । चोटपटक लागेपछि हड्डीको भित्री भाग चकनाचुर भयो र जोर्नी बनाउन सकिएन भने पनि प्रत्यारोपण गर्नुपर्ने हुन्छ ।
वृद्धावस्थामा विभिन्न कारणले हाडहरु कमजोर हुने भएकाले लडेर, ठोक्किएर भाँचिन सक्छ । त्यस्तै डिमेन्सिया, पार्किन्ससलगायत विभिन्न मानसिक रोग लागेका मानिसको कुनै कारणले जोर्नी फेर्नुपर्ने अवस्था आयो भने तुरुन्तै उपचार गर्नुपर्छ । यस्ता मानिसलाई अरुलाई जस्तो शुरुमा बैसाखी, वाकर, लठ्ठी टेकाएर हिँडाउन सम्भव नहुने भएकाले भोलिपल्टैदेखि खुट्टा टेकेर हिँड्न मिल्ने गरी उपचार गर्नुुपर्ने हुन्छ । हामी त्यस्तालाई अपरेसन गरेको दुई घण्टापछि नै हिँड्न मिल्ने गराउँछौँ ।
शुरुमै कसरी थाहा पाउने ?
दिनभरि हिँड्दा, काम गर्दा ठीकै हुने तर राति सुतेपछि छटपटी हुने, जोर्नी एकदमै टन्किएजस्तो हुने, दुख्ने हुन्छ । अर्थात् शुरुमा काम गरेका बेला थाहा नहुने तर आराम गरेका बेला पीडा हुन्छ । त्यो भनेको लोड परेका बेला मासु (झिल्ली) तन्कियो, खुम्चियो, सुन्नियो अनि आराम गरेका बेला दुख्न थालेको हो ।
यस्तो प्रारम्भिक चरणमै किन मलाई दुख्यो, मैले के–के गरेको, के–के खाएको, कस्तो जुत्ता लगाएको थिएँ भनेर सोच्नुपर्छ र आफैँले करेक्सन गर्नुपर्छ । कसैले भर्खरै योग शुरु गरेको छ, पलेटी कसेर बसेको छ, जुम्बा, जीम गएको छ भने पनि दुख्न थाल्छ ।
खानपान र यी सबैमा परिवर्तन गरेपछि पनि सुधार भएन भने डाक्टरसँग सल्लाह लिनुपर्छ । डाक्टरद्वारा पनि शुरुमा खानपान र जीवनशैली सुधारका कार्यहरु सिकाउने गरिन्छ । यसबाट समाधान नभए मात्र जोर्नी प्रत्यारोपणबारे सोचिन्छ ।
आवश्यकताको आधारमा प्रत्यारोपण
‘हामीले एक्सरे, एमआरआईजस्ता रिपोर्टका आधारमा मात्र जोर्नी प्रत्यारोपण गर्ने होइन, बिरामीको उपचार गर्ने हो ।’ जस्तो– मैले एक्सरेको रिपोर्ट हेरेँ । यसका आधारमा ‘ओ हो गे्रड थ्री पुगिसकेको रहेछ जोर्नी फेरिदिऊँ’ भनेँ तर त्यो मानिस खेत खनिरहेको छ भने त्यो सही हुँदैन ।
किनभने गाउँमा ९० वर्षको मानिसको एक्सरे हेर्दा घुँडा खिइसकेको देखिन्छ तर खेत खनिरहेको, राम्ररी हिँडिरहेको भेटिन्छ । किनकि उसले त्यसलाई आफ्नो दैनिक जीवन अनुकूल बनाइसकेको हुन्छ । यस्तोमा जोर्नी फेर्नुपर्दैन ।
जसलाई हिँड्न, बस्न नै कठिनाइ छ, पीडा खप्न नसक्ने अवस्था छ, उसको चाहिँ फेर्नुपर्छ । रिपोर्ट हेरेर होइन कि उसको पीडा, दैनिक जीवनयापन आदि हेरेर आवश्यकताको आधारमा प्रत्यारोपण गर्ने हो । जोर्नी प्रत्यारोपण धेरै किसिमका छन् । एउटा सिमेन्ट राखेर गर्ने र अर्को सिमेन्ट नराखी गर्ने (प्रेसफिट) हुन्छ । घुँडामा बोन सिमेन्ट राखिन्छ ।