साविक विजेता इंग्ल्यान्ड आइसिसी विश्वकप २०२३ मा घरेलु टोली भारतसँग १ सय रनको लज्जास्पद हारसँगै लिगबाटै बाहिरिने पक्कापक्की भएको छ । भारत भने ६ खेलमा १२ अंकका साथ सेमिफाइनल नजिक पुगेको छ ।
जितको लागि २ सय ३० रनको मध्यम लक्ष्य पछ्याएको इंग्ल्यान्ड ३४.५ ओभरमा १ सय २९ रनमा अल आउट भयो । इंग्ल्यान्डका लियाम लिभिङस्टोनले ४६ बलमा २ चौकासहित सर्वाधिक २७ रन बनाए ।
इंग्ल्यान्डलाई ओपनर डेविड मलान र जोनी बेयरस्टोले ४.५ ओभरमा ३० रन जोड्दै राम्रो सुरुवात दिलाएका थिए । तीव्र गतिका बलर जस्प्रित बुमराहले मलानलाई १७ रनमा बोल्ड आउट गरे । मलानले १७ बलमा २ चौका र १ छक्का प्रहार गरे ।
लगत्तै अर्को बलमा जो रुट एलबीडब्लू आउट हुँदै गोल्डेन डक आउट भए । आठौं ओभरको अन्तिम बलमा मोहम्मद शामीले बेन स्टोक्सलाई शून्यमा बोल्ड गरे । शामीले नै अर्को ओभरमा जोनी बेयरस्टोलाई १४ रनमा बोल्ड आउट गरेपछि इंग्ल्यान्ड ९.१ ओभरमा ३९-४ को अवस्थामा पुगेको थियो । कुलदीप यादवले जस बटलरलाई १० रनमा बोल्ड आउट गरेपछि इंग्ल्यान्डको जितको सम्भावना सकिएको थियो । डेविड विल्लीले १६ र आदिल राशिदले १३ रन बनाए ।
भारतका मोहम्मद शाममीले ७ ओभरमा २ मेडनसहित २२ रन खर्चेर ४ विकेट लिए । जस्प्रित बुमराहले ६.५ ओभरमा १ मेडनसहित ३२ रन खर्चेर ३ विकेट लिए । कुलदीप यादवले २ र रविन्द्र जडेजाले एक एक विकेट लिए । त्यसअघि लखनऊमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले ५० ओभरमा ९ विकेट गुमाएर २ सय २९ रन बनाएको थियो । भारतका कप्तान रोहित शर्माले १ सय १ बलमा १० चौका र ३ छक्कासहित सर्वाधिक ८७ रनको योगदान दिए ।
स्पिनर आदिल राशिदको ३७ औं ओभरको पाँचौं बलमा रोहित लङअनमा क्याच आउट भएपछि शतक बनाउन चुकेका थिए । रोहितबाहेक केएल राहुलले ३९ रन र सूर्यकुमार यादवले ४९ रनको योगदान दिए ।
इंग्ल्यान्डका आदिल राशिदले १० ओभरमा ३५ रन खर्चेर २ विकेट लिए । डेविड विल्लीले १० ओभरमा २ मेडनसहित ४५ रन खर्चेर ३ विकेट लिए । भारत ६ खेलमा १२ अंकका साथ शीर्षस्थानमा छ । इंग्ल्यान्ड ६ खेलमा १ मा जित र ५ मा हारसहित २ अंकका साथ पुछारमा छ ।
इंग्ल्यान्डले अब अष्ट्रेलिया, नेदरल्यान्ड्स र पाकिस्तानसँग खेल्नेछ । बाँकी सबै खेल जितेपनि इंग्ल्यान्डको मात्रै ८ अंक हुनेछ । ८ अंक अन्तिम चारमा रहेर सेमिफाइनलमा पुग्न पर्याप्त देखिँदैन ।
दक्षिण अफ्रिका ६ खेलमा ५ मा जित र १ मा हारसहित १० अंकका साथ दोस्रो स्थानमा छ । न्युजिल्यान्ड ६ खेलमा ४ मा जित र २ मा हारसहित ८ अंकका साथ तेस्रो स्थानमा छ । अष्ट्रेलिया ६ खेलमा ४ मा जित र २ मा हारसहित ८ अंकका साथ चौथो स्थानमा छ।