नेपालले त्रिकोणात्मक टि–२० आई सिरिजको फाइनल खेलमा आज युएईसँग खेल्दैछ । खेल बिहान-११ बजे टियु क्रिकेट मैदानमा सुरु हुनेछ ।
नेपालले हङकङ र युएईलाई समान दुई खेलमा हराएको थियो । युएईले हङकङलाई एक खेलमा हराउँदै नेटरनरेटका कारण फाइनलमा पुगेको थियो । समान २ अंक भएपनि युएई नेटरनरेटको कारण फाइनल खेलेको हो ।
नेपालले पछिल्लो खेलमा युएईलाई ५ विकेटले हराएको थियो । उक्त खेलबाट नेपालले टोलीमा एक परिवर्तन गर्ने सम्भावना छ । अलराउन्डर विवेक यादवलाई बेन्चमा राख्दै स्पिनर ललितनारायण राजवंशीलाई मौका दिने सम्भावना छ । पछिल्लो समय ललित युएईविरुद्ध हाबी हुँदै आएका छन् ।
चोटपछि फर्किएका उनी टोलीको प्रमुख स्पिनरको रुपमा खेल्ने सम्भावना छ । सन्दीप लामिछाने टोलीमा छैनन् । त्यसैको कारण ललित प्रमुख स्पिनर हुन् । अर्कोतर्फ विश्वकप छनोट अघि यो अन्तिम खेल हुँदा ललितलाई मौको दिने देखिन्छ ।
ललितलाई पार्टटाइम स्पिनर दीपेन्द्रसिंह ऐरी र कुशल मल्लले साथ दिनेछन् । आवश्यक परेमा रोहित पौडेल र कुशल भुर्तेल विकल्प हुन सक्छन् । नेपालको टोलीमा अन्य परिवर्तनको सम्भावना छैन । ओपनरमा कुशल भुर्तेल र आसिफ शेख हुनेछन् । कुशल भर्तेलबाट टोली फाइनलमा उत्कृष्ट प्रदर्शन चाहन्छ ।
आसिफले युएईविरुद्ध ५० बलमा ६२ रन बनाएका थिए । त्यसले उनको मनोबल फेरिन सक्छ । नेपालले पछिल्ला दुुई खेलमा सोमपाल कामीलाई तेस्रो नम्बरमा पठाएको थियो ।तर युएईविरुद्ध कुशल मल्ल तेस्रो नम्बरमा खेल्नेछन् । कुशल मल्ल नेपालका प्रमुख टि२० खेलाडी हुन्। उनको प्रदर्शन महत्वपूर्णहुनेछ। सोमपाल तल्लो क्रममा खेल्नेछन् ।
चौथोमा कप्तान रोहित पौडेल र पाँचौंमा दीपेन्द्रसिंह ऐरी हुनेछन् । दीपेन्द्र नेपालका फिनिसर हुन् । पछिल्लो खेलमा युएईविरुद्ध दीपेन्द्रले १५ बलमा ४० रन बनाउँदै नेपालको जित पक्का गराएका थिए । दीपेन्द्रको ब्याटिङ, बलिङ र फिल्डिङ तीनै क्षेत्रमा प्रदर्शन नेपालको लागि महत्वपूर्ण हुनेछ ।
नेपालको ब्याटिङमा गहिराई छ । करण केसी, सोमपाल कामी र गुलशन झा पनि राम्रो ब्याटिङ गर्दछन् । करण युएईलाई भारी पर्न सक्छन् । नेपालका तीव्र गतिका बलर करण केसी र सोमपाल कामीको बलिङ महत्वपूर्ण हुनेछ।
युएईको ब्याटिङ शीर्ष क्रममा निर्भरछ । ओपनर मोहम्मद वासिम, वृत्य अरविन्द र आसिफ खान प्रमुख ब्याटर हुन् । त्यसैले सुरुवातमा करण र सोमपालको बलिङ निकै महत्वपूर्ण हुने देखिन्छ । अभिनाश बोहरा नेपालको डेथ ओभर स्पेलिष्ट बलर हुन् । नेपालसँग तीन प्रमुख तीव्र गतिका बलर हुनेछन् । गुलशन झा पार्टटाइम तीव्र गतिका बलर हुनेछन् ।