काठमाडौं । उच्च हिमाली क्षेत्रमा कात्तिक अन्तिमदेखि र उच्च पहाडी तथा हिमाली क्षेत्रमा मंसिरदेखि नै हिमपात हुने गर्छ । तर, यो वर्ष माघ लागिसक्दा पनि हिमशृंखला कालापत्थरजस्तै बनेका छन् । उच्च हिमाली क्षेत्रमा भने फाटफुट हिमपात भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार पश्चिमी न्यूनचापीय प्रणाली नआउँदा यसपटक वर्षा र हिमपात हुन नसकेको हो ।
यस वर्ष पश्चिमी वायु सक्रिय नहुँदा वर्षा र हिमपात हुन नसकेको हो । पश्चिमी न्यूनचापीय प्रणाली पश्चिमबाट पूर्व बहँदा जलवाष्पयुक्त हावा पनि सँगै ल्याउने गर्छ । जसले तराई र पहाडमा वर्षा गराउँछ भने उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात गराउँछ । तर, यस वर्ष पश्चिमी न्यूनचापीय प्रणालीको खासै प्रवेश भएको छैन, आएको प्रणाली पनि निकै कमजोर अर्थात् जलवाष्पविहीन रहँदा पानी पर्न नसकेको हो । मौसमविद् अधिकारीका अनुसार हिमपात बढी हुने समय जनवरीसम्म हो । त्यसपछि तापक्रम पनि बढ्दै जाने हुन्छ । गत वर्ष पनि ढिलो गरी मात्र हिमपात भएको थियो भने उत्तरार्धमा पश्चिमी क्षेत्रका खोलामा बाढी नै आउने गरी वर्षा भएको थियो ।
तर यसपटक हिउँद यामको पहिलो डेढ महिना मुलुकभर सुक्खा भएको छ । अधिकांश ठाउँमा मंसिरयता वर्षा भएको छैन । मध्यहिउँदमा पुगिसक्दा एक–दुई ठाउँबाहेक हिमपात पनि हुन सकेको छैन । विगत वर्षहरूमा यतिवेला सेताम्ये देखिने हिमशृंखलाहरू माघ लागिसक्दा पनि कालापत्थरजस्तै बनेका छन् ।
जल तथा मौसम विज्ञान विभागका अनुसार हिउँदको तीन महिना (१५ मंसिरदेखि १५ फागुन)सम्म औसत ६०.९ मिलिमिटर (वार्षिक वर्षाको तीन प्रतिशत) वर्षा हुनुपर्ने हो । तर, हिउँदका डेढ महिना (१ माघसम्म) जम्मा ०.१ मिलिमिटर मात्र वर्षा भएको छ । जब कि यो डेढमहिने अवधिमा कम्तीमा पनि १७(१६ मिलिमिटर वर्षा भइसक्नुपर्थ्यो । गत वर्ष यो अवधिमा २७(१ मिलिमिटर वर्षा भइसकेको थियो भने हिउँदका तीन महिनामा ७४ मिलिमिटर वर्षा भएको थियो ।
विभागका वरिष्ठ मौसमविद् डा इन्दिरा कँडेलले प्रशान्त महासागरमा देखिएको लानिनाले सामुद्रिक तापमान घटाइदिने भएकाले पानी पर्ने सम्भावना कम हुने बताउनुभयो ।
विभागका अनुसार मुलुकभर रहेका एक सय १६ वटा वर्षा मापन केन्द्रमध्ये ८२ वटाको मात्र तथ्यांक उपलब्ध भएको छ । तर, तीमध्ये १२ वटा स्टेसनमा मात्र वर्षा रेकर्ड भएको छ । हिउँदको डेढ महिनामा सबैभन्दा बढी कञ्चनपुरको महेन्द्रनगरमा तीन मिलिमिटर वर्षा मापन हुँदा बैतडीको पाटनमा १.२ मिलिमिटर वर्षा भएको छ । बाँकी १० केन्द्रमा एक मिलिमिटरभन्दा कम वर्षा भएको छ । कैलालीको अत्तरियामा ०.८, इलामको कन्याममा ०.५, नेपालगन्जमा ०.४, चापाकोटमा ०.३ र बैतडीको गोठालापानीमा ०.२ मिलिमिटर वर्षा रेकर्ड भएको छ । त्यस्तै, वीरगन्ज, खाँदबारी, बाँकेको खजुरा, अछामको वलीगाउँ र ताप्लेजुङमा ०.०१ मिलिमिटर मात्र वर्षा रेकर्ड भएको छ । त्यसबाहेकका केन्द्रमा वर्षा नै रेकर्ड भएको छैन ।
सामान्यतया एक मिलिमिटरभन्दा धेरैलाई मात्र वर्षा मानिन्छ । तीन मिलिमिटर वर्षा पनि निकै कम हो, पूरै जमिन पनि रुझाउँदैन । यसको अर्थ पछिल्ला डेढ महिनामा नेपालमा वर्षा नै भएको छैन । विभागले यसअघि नै हिउँदे याममा मुलुकका धेरैजसो स्थानमा वर्षा औसतभन्दा कम हुने र अधिकत तापक्रम पनि सरदरभन्दा बढी हुने प्रक्षेपण गरेको थियो । हिउँदे वर्षाले कृषि उत्पादनमा सहयोग गर्छ, पानीका स्रोत पुनर्भरणमा पनि मद्दत गर्छ ।