काठमाडौँ । राहदानी विभागको सक्रियता दोब्बर गराएर सेवा दिने भनिए पनि कार्यान्वयन हुन सकेको छैन ।
विभागमा देशैभरका सेवाग्राही द्रुत सेवा लिन आउने भएकाले पनि हरेक दिन विभाग परिसर सेवाग्राहीको भीडले तनावयुक्त रहने गरेको छ ।
सेवा विस्तारको पहल थालिए पनि जनशक्ति अभाव सेवा प्रवाहको सहजतामा बाधा बनेको विभागले जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, चालक अनुमतिपत्रलगायतका अत्यावश्यक कागजपत्र सम्बद्ध सेवा द्रुत गतिमा दिन लिखित निर्देशन दिनुभएको थियो । सोहीअनुसार विभागले भएकै कर्मचारीलाई केही सुविधा थप गरेर वा दोब्बर सेवा सञ्चालन गरेर सेवा प्रभावकारी बनाउन सकिने गरी आफ्नो कार्ययोजना बनाएर प्रधानमन्त्री कार्यालयमा पेस गरिसकेको छ ।
कसरी अघि बढ्ने भन्ने सम्बन्धमा प्रधानमन्त्री कार्यालयबाट कुनै जवाफ नआएको विभागले जनाएको छ । तत्काल सेवा विस्तारका लागि सामान्य प्रशासन मन्त्रालयसँग कम्प्युटर अपरेटरसहितका प्राविधिकको माग एक महिनाअघि गरिए पनि नआइदिँदा समस्या परेको गुनासो विभागका महानिर्देशक सुरेन्द्रकुमार यादवले गर्नुभयो । आवश्यक प्राविधिक जनशक्ति भने बाहिरबाटै ल्याउनुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो ।
विभागका प्रवक्ता दुरपदा सापकोटाका अनुसार विभागको स्थायी र करार गरेर कुल १०६ जनाको जनशक्तिले देशव्यापी राहदानी वितरणको भार थेगिरहेको छ । दोहोरो सिफ्ट सञ्चालन गर्न अहिलेको जत्तिकै दोहोरो जनशक्ति आवश्यक पर्ने उहाँले बताउनुभयो ।
उहाँका अनुसार सामान्य सेवाका लागि नै कर्मचारी अभाव छ त्यसमाथि विभागलाई कुशलदेखि अति कुशल प्राविधिक जनशक्तिको टड्कारो आवश्यकता छ । तर थप जनशक्तिका लागि विभागसँग आफ्नै दरबन्दी खाली छैन । यसअघि मेसिनले पढ्ने राहदानी वितरणको साङ्गठनिक संरचनामै विद्युतीय राहदानी वितरणको संरचना रहेकाले पनि द्रुत सेवा दिन विभागलाई ढुङ्गा चपाएजस्तै कठिन देखिएको हो । विभागले विद्युतीय राहदानी वितरण सहज बनाउनकै लागि यसअघि नै झन्डै ४० जना कर्मचारी र प्राविधिक करारमा राखेको छ ।
अहिलेको तुलनामा ठ्याक्कै दोहोरो सेवा दिने गरी कार्ययोजना निर्माण गर्न विभाग सक्रिय रहेको जनाएको छ । त्यसका लागि आवश्यक जनशक्ति अन्यत्रबाट तानतुन गरेर मिलाउनुको विकल्प विभागसँग छैन । सेवा दोब्बर गर्न दुई सिफ्ट चलाउनै पर्छ । त्यसका लागि पनि अहिलेको जनशक्तिमा थप गर्न विभागले सामान्य प्रशासनसँग जनशक्ति सापटी मागेको हो ।