काठमाडौं । संघीय प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत देशभर मतदान भइरहेको छ ।
विहान ७ बजे शुरु भएको मतदान आज साँझ ५ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ । मतदानमा देशभर कूल एक करोड ८९ लाख ८८ हजार ५७० जना मतदाता सहभागी हुने आयोगको अनुमान छ । आयोगका अनुसार मतदानका लागि १० हजार ८९२ मतदानस्थल र २२ हजार दुई सय २७ मतदान केन्द्र बनाइएको छ ।
मतदान गर्न जाँदा मतदाता परिचय–पत्र अनिवार्य लैजान आग्रह गर्नुभएको छ।
मतदानका लागि आउँदा मतदाता परिचयपत्र साथमा लिएर आउन आयोगले अपिल गरेको छ । मतदाता नभएकाले आयोगले तोके बमोजिम आफ्नो फोटो टाँसिएको नागरिकताको प्रमाणपत्र, राहदानी, जग्गाधनी प्रमाण पुर्जा, सवारी अनुमति(पत्र वा राष्ट्रिय परिचयपत्रमध्ये कुनै एउटा परिचय पत्र बोकेर जानसक्ने बताइएको छ ।
आयोगका अनुसार मतदाताहरुले मतदानका लागि जाँदा मोबाइल, क्यामेरा, सलाई, लाइटर लगायतका कुनै पनि निषेधित वस्तु बोक्न हुँदैन । निषेधित वस्तु मतदान केन्द्रमा लिएर गए सामग्रीहरु जफत गर्ने आयोगको चेतावनी छ।
मोबाइलबाट मतपत्रको फोटो खिच्न चाहेमा सुरक्षाकर्मीको निगरानीमा पर्नेसमेत प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताउनुभयो। लुकाएर मोबाइल लगिएको भए सामान जफत हुने उहाँको भनाइ छ। उहाँले दोहोर्याएर मत हाल्ने प्रयास नगर्नसमेत अनुरोध गर्नुभएको छ।
मतदान गर्न आउने अशक्त, ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी, किरियापुत्री, अपाङ्गता भएका व्यक्तिलाई आवश्यक सहयोग गर्न उहाँले अनुरोध गर्नुभएको छ। प्रमुख आयुक्त थपलियाले चार वटा मतपत्रमा स्वस्तिक छाप लगाएर चार वटा छुट्टै मतपेटिकामा मतदान गरिसकेपछि मतदानको कार्य सकिने बताउनुभएको छ।