काठमाडौँ । नेकपा एमालेले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि कात्तिक १८ गतेदेखि चुनावी अभियान शुरू गर्दैछ।
सुदूरपश्चिमको दार्चुलामा हुने पहिलो चुनावी सभालाई अध्यक्ष केपी शर्मा ओलीसहितका नेताले सम्बोधन गर्नुहुनेछ ।
दार्चुलास्थित सदरमुकाम खलंगामा १८ गते बिहान ११ बजे हुने सभालाई सम्बोधन गर्न ओली हेलिकोप्टरबाट जाने एमाले स्रोतले जनाएको छ। त्यही दिन उनले सुदूरपश्चिमका अरु दुई जिल्लामा हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम छ।
ओलीले यसअघिका निर्वाचनमा अभियान थाल्दा पूर्वतिरका जिल्ला रोज्ने गर्नुभएको थियो । गएको स्थानीय तह निर्वाचनमा भने उहाँले भर्चुअल माध्यमबाट अभियानको शुरूआत गर्नुभएको थियो ।
ओली दोस्रो पटक प्रधानमन्त्री भएका बेला भारतद्वारा अतिक्रमित दार्चुलाको भूभाग लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटेर ‘चुच्चे नक्सा’ सार्वजनिक गर्नुभएको थियो । नेपालको नक्साको पश्चिम उत्तरमा देखिने चुच्चो भाग नै लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र हो।
आफू प्रधानमन्त्री हुँदा भारतले अतिक्रमण गरेको क्षेत्र नक्सामा समेटिएको विषयलाई चुनावी अजेन्डा बनाउन ओलीले पहिलो सभा नै दार्चुलामा राख्नुभएको ओली निकट एक नेताले बताए ।
दार्चुलाबाट प्रतिनिधिसभातर्फ उम्मेदवार रहेका निवर्तमान सांसद तथा एमाले पोलिटब्युरो सदस्य गणेशसिंह ठगुन्नाले पार्टी केन्द्रकै निर्णयअनुसार दार्चुलाबाट चुनावी अभियान शुरू हुन लागेको बताउनुभयो। अतिक्रमित भूमि समेटेर नक्सा जारी गरिएको जिल्ला भएको हुनाले एमाले त्यसको पक्षमा दृढतापूर्वक उभिएको छ र भविष्यमा पनि उभिने सन्देश दिन यहाँबाट अभियान शुरू हुन लागेको ठगुन्नाले जानकारी दिनुभयो ।
ओली नेतृत्वको सरकारले २०७७ जेठ ७ गते कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्सा सार्वजनिक गरेको थियो। भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले उक्त नक्सा जेठ ९ गते राजपत्रमा प्रकाशित गरेको थियो।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले नेपालको संविधानलाई संशोधन गर्न बनेको विधेयक संसद् सचिवालयमा जेठ ९ गते नै दर्ता गरेको थियो। प्रतिनिधिसभा हुँदै राष्ट्रिय सभाबाट समेत दुईतिहाइ बहुमतले पारित भएपछि संविधानको अनुसूची ३ मा रहेको निशान छाप फेरिएको थियो। त्यसपछि नेपालको क्षेत्रफल नै परिवर्तन हुने गरी नयाँ नक्सामा दार्चुला जिल्लासँग जोडिएको पश्चिमपट्टिको चुच्चो भाग जोडिएको थियो।
एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजाल भने दार्चुलाबाट चुनावी अभियान शुरू गर्नुको पछाडि राष्ट्रियताको विषय अजेन्डा बनाउने उद्देश्य नभएको बताउनुभयो।
रिजालले राष्ट्रियता तथा स्वाधिनताको रक्षा गर्नु पार्टीको कर्तव्य र दायित्व भएको भन्दै यसलाई चुनावी अजेन्डा बनाउनु आवश्यक नरहेको बताउनुभयो ।
दार्चुला सदरमुकाम खलंगाबाट कात्तिक १८ गते शुरू हुने एमालेको चुनावी अभियान मंसिर १ गतेसम्म सञ्चालन हुनेछ। अधिकांश चुनावी सभालाई एमाले अध्यक्ष ओलीले नै सम्बोधन गर्नुहुने कार्यक्रम छ।
खलंगामा बिहान ११ बजे आयोजना हुने सभालाई सम्बोधन गरेर ओलीले त्यसै दिन सुदूरपश्चिमका अन्य दुई जिल्ला पुग्नुहुने कार्यक्रम छ । उहाँले त्यही दिन बैतडीको पाटन र कञ्चनपुर सदरमुकाम महेन्द्रनगरका सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको सुदूरपश्चिम प्रदेश सचिव पाठकले जानकारी दिनु्भयो ।
एमाले प्रचार विभाग उपप्रमुख रिजालका अनुसार ओलीले ४० वटा जिल्लामा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ। एक दिनमा तीन वटा जिल्लासम्म सम्बोधन गर्ने गरी न्यूनतम कार्यक्रम बनाइएको उहाँले बताउनुभयो । कतिपय एउटै जिल्लाका दुई निर्वाचन क्षेत्रमा पनि सम्बोधन गर्नुहुने सम्भावना रहेको रिजालको भनाइ छ ।
गत वैशाख ३० मा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा पनि एमाले अध्यक्ष ओली नै अधिकाशं सभामा पुग्नुभएको थियो ।