काठमाडौं । आगामी मंसिर ४ मा हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि विभिन्न दल र स्वतन्त्र उम्मेदवारहरुलाई अहिले मतदाताको पुग्न भ्याइ नभ्याइ छ । सबै उम्मेदवारहरु आफू जित्ने लक्ष्य र रणनीति बनाएर आ आफ्नो क्षेत्रका मतदाताबीच विभिन्न माध्यमबाट पुगेर आफ्नो पक्षमा मत मागिरहेका छन् ।
त्यसैक्रममा शनिवार बिहान काठमाडौं क्षेत्र नम्बर ३ का स्वतन्त्रसहित सबै दलका उम्मेदवारहरुको एकैठाउँमा जम्घाभेट भएको छ । गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ को जोरपाटी नयाँ बस्तीमा आयोजित एक कार्यक्रममा अधिकांश उम्मेदवारहरुबीच जम्घाभेट भएको हो । तिहार,नेपाल सम्वत र छठपर्वको अवसरमा काभ्रेली सेवा समाजले आयोजना गरेको चियापान तथा शुभकामना कार्यक्रममा काठमाडौं क्षेत्र नम्बर ३ का नेकपा एमालेका प्रतिनिधिसभाका उम्मेदवार निवर्तमान सांसद कृष्णबहादुर राई, बागमती प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य (ख) का उम्मेदवार रामेश्वर फुयाँल, प्रदेशसभा सदस्य (क) का उम्मेदवार चन्द्रमान लामाको उपस्थिति रहेको थियो ।
यस्तै नेपाली काँग्रेसका प्रतिनिधिसभाका उम्मेदवार तथा गोकर्णेश्वर नगरपालिकाका निवर्तमान मेयर सन्तोष चालिसे, प्रदेशसभा सदस्य (क) का उम्मेदवार छिरिङदोर्जे लामा र प्रदेशसभा सदस्य (ख) का उम्मेदवार विमल ठकुरी पनि चियापान कार्यक्रममा सहभागी हुनुभएको थियो । त्यसक्रममा उम्मेदवारहरुले एकअर्कालाई जीतको शुभकामना समेत दिए ।
कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका उपमेयर सान्नानी लामा, विभिन्न वडाका वडाध्यक्षहरुका साथै स्थानीय नेता तथा समाजसेवीहरुको पनि उपस्थिति रहेको थियो ।
कार्यक्रममा तदर्थ समितिका संयोजक केशव सापकोटाले आफूहरुले राजनीतिक उदेश्यले नभई गोकर्णेश्वरमा बसोबास गर्दै आएका काभ्रे जिल्लावासीहरुबीच आपसी भेटघाट,विचारको आदनप्रदान र एकताभाव जुटाउन भेटघाटको आयोजना गरेको बताउनुभयो । उहाँले आगामी निर्वाचनमा चुनावी मैदानमा रहनुभएका सबै दलका उम्मेदवारहरुलाई अग्रीम शुभकामना दिदै जसले जिते पनि यहाँका स्थानीय मतदाताको भावना अनुरु िविकास निर्माण,स्वास्थ्य शिक्षा र रोजगारी लगायतमा काम गरेर देखाउन आग्रह गर्नुभयो ।
तस्बिर : अनिश लामा/ गोकर्णेश्वर टेलिभिजन