काठमाडौं । महानगरको अभियानअन्तर्गत टुकुचा उत्खनन गरिएको ठाउँ दुर्गन्धित बनेको छ ।
कतिपयस्थानमा जमिन भासिँदै गएको स्थानीयको गुनासो छ । उत्खननका क्रममा १२ देखि १५ फिट गहिरो खोल्डो खनिएको थियो । उत्खनन गरिएको क्षेत्र आसपास दुर्गन्ध फैलिएको स्थानीयको गुनासो छ । त्यस्तै फुटपाथमा हिँड्ने पैदल यात्रुका लागि दुर्घटनाको जोखिम समेत बढेको छ ।
तर अदालतले टुकुचालाई जस्ताको तस्तै छोड्न आदेश जारी गरेकाले तत्काल केही पनि काम गर्न नसकिने महानगरका प्रवक्ता नवीन मानन्धरले बताउनुभयो ।
हात्तीसारस्थित जय नेपाल हलको कम्पाउन्डमा करिब १२ फिट गहिरो खाल्डो खनेर टुकुचा उत्खनन गरिएको थियो । सो क्षेत्रको जमिन पनि भासिँदै गएको छ ।
टुकुचामाथि बनेका घरहरूलाई भत्काएर निकास दिने भन्दै महानगरले उत्खनन थालेपनि अदालतको आदेशपछि अभियान स्थगित भएको छ ।
महानगरले विभिन्न क्षेत्रमा टुकुचा उत्खननका लागि डोजर चलाएपछि घरधनीहरूले अदालतमा रिट दायर गरेका थिए । असोज २ गते सो रिटमा अदालतले तत्काल टुकुचामाथि बनेका संरचना नभत्काउन अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।
टुकुचामाथि पर्ने २१ घरधनीले महानगरलाई विपक्षी बनाएर अदालत पुगेका थिए । रिट निवेदकहरूले वैध रूपमा नै जग्गाजमिन खरिद गरी संरचना खडा गरेको हुँदा ती संरचनाहरू नभत्काउन माग गरेका थिए ।
प्रारम्भिक सुनुवाइपछि अदालतबाट टुकुचा खोलामाथि रहेका संरचना तत्काल नहटाउन न्यायाधीश किरणकुमार पोखरेलको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई टुकुचा उत्खननको विवाद सल्ट्याउने चुनौती थपिएको छ ।