काठमाडौं । बिहीबार दिनभर जसो राजनीतिक वृत्त नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई प्रधानमन्त्रीको अफरको चर्चाले तरंगित बन्यो ।
माओवादीका अध्यक्ष दाहालले केही दिन अघि आफूलाई प्रधानमन्त्री बन्ने प्रस्ताव आएको भए पनि त्यसलाई अस्वीकार गरेको दाबी गर्नुभएको थियो । उहाँको दाबीलाई बल पुग्ने गरी एकीकृत समाजवादीका अध्यक्ष नेपालले पनि दाहाललाई मात्र नभएर आफूलाई पनि प्रधानमन्त्री बन्न प्रस्ताव आइरहेको दाबी गरेसँगै यस विषय चर्चामा रहेको छ ।
एकीकृत समाजवादीका अध्यक्ष नेपालले बिहीबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्रीको अफर आएको बताए पनि कुन दल र कसले भन्ने खुलाउनु भएन ।
स्थानीय तह निर्वाचनको परिणाम आएपछि तीन ठूला कम्युनिस्ट पार्टी वाम गठबन्धनतर्फ उन्मुख भएको समाचारहरु सार्वजनिक भइरहँदा दाहाल र माधव स्वयंले प्रधानमन्त्रीको अफर आएको बताएसँगै सत्ता गठबन्धनको मुख्य दल कांग्रेसका नेताहरु सशंकित बनेका छन् ।
वाम गठबन्धनको विषयमा ति दलहरुबीच भित्रभित्रै छलफल भइरहेको र खासगरी एमालेले यसको अगुवाइ थालेको समाचारहरु बाहिरिँदा पाँच वर्ष पहिला जस्तै चुनावको समयमा वाम गठबन्धन बन्ने त होइन भन्ने प्रश्न कांग्रेस र तीन दलका कार्यकर्तामा प्रश्न उब्जिएको छ ।
तर, तत्कालीन नेकपामा विवाद भएदेखि अध्यक्ष केपी शर्मा ओलीविरुद्ध मोर्चाबन्दी गरेका र अहिले दुई फरक फरक पार्टीका अध्यक्ष प्रचण्ड र नेपालले वाम गठबन्धनको विषयलाई अस्वीकार गरिदिएका छन् ।
समाजवादीका अध्यक्ष नेपालले एमाले गठबन्धनको विकल्प हुन नसक्ने र एमालेसँग एकताको सम्भावना नै नभएको बताएसँगै आगामी प्रतिनिधि सभा निर्वाचनमा गठबन्धन बन्ने सम्भावना कमजोर देखिएको छ ।
प्रधानमन्त्रीको कार्ड फालेर भूलभूलैयामा पार्न र मुर्ख बनाउन खोजेको अध्यक्ष नेपालको भनाइ छ ।
यस्ता लोभलालच भुलभुलैयामा पर्ने मान्छे आफू नभएको भन्दै प्रधानमन्त्रीको प्रस्तावमा नलोभिने उहाँले दाबी गर्नुभएको छ ।