काठमाडौं । आज विहानबाट सम्पर्कविहीन भएको पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज खोज्न हेलिकोप्टर परिचालन गरिएको छ ।
मुस्ताङ र पोखराबाट दुई वटा निजी हेलिकोप्टर प्रयोग गरेर हेलिकोप्टरको खोजी भइरहेको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जानकारी दिनुभयो । नेपाली सेनाको हेलिकोप्टरलाई पनि खोजीमा प्रयोग गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो ।
सैनिक प्रवक्ता सहायक रथी नारायण सिलवालले सुर्खेत र काठमाडौं एयरबेसबाट हेलिकोप्टर परिचालन गर्न तयारी अवस्थामा रहेको बताउनुभयो । गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी दिवेश लोहनीका अनुसार सम्पर्कविहीन जहाजको स्थल र हवाई दुवै माध्यमबाट खोजी भइरहेको छ ।
यसैबीच, मुस्ताङको घाँसामा ठूलो आवाज सुनेको र आगो बलेको देखेको भन्दै स्थानीयले खबर गरेका छन् । यो सूचनालाई पुष्टि गर्ने प्रयास भइरहेको लोहनीले बताउनुभयो ।
सम्पर्कविहीन भएको तारा एयरको ९ एन एईटी ट्विनअटर विमान १९ जना यात्रु लिएर विहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको थियो । विमानमा इन्द्रबहादुर गोले, पुरुषोत्तम गोले, राजनकुमार गोले, मिक ग्र्याट, वसन्त लामा, गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रस्मी श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकरबहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुल्सादेवी तामाङ, अशोककुमार त्रिपाठी, धनुष त्रिपाठी, ऋतिका त्रिपाठी, युवी विल्नर र वैभवी बाण्डेकर सवार थिए ।
यस्तै विमान क्याप्टेन प्रभावकर घिमिरेले उडाएका थिए भने सहचालक उत्सव पोखरेल र एयर होस्टेन किस्मी थापा थिइन् ।
म्याग्दीका स्थानीयको अनुसार उक्त जहाज म्याग्दी कटेर धवलागिरीतर्फ मोडिएको थियो । त्यसपछि सम्पर्कविहीन भएकोले मुस्ताङ क्षेत्रमै दुर्घटना भएको अनुमान गरिएको छ ।००००