काठमाडौं । आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस विभिन्न कार्यक्रम गरि मनाइँदै छ ।
सगरमाथाको सफल आरोहण भएको आज ६९ वर्ष पूरा भएको छ । तेञ्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीले आजभन्दा ६९ वर्षअघि अर्थात् सन् १९५३ मे २९ मा पहिलोपटक सगरमाथाको सफल आरोहण गरेका थिए ।
नेपालमा वि सं २०६४ देखि सगरमाथा दिवस मनाइँदै आएको छ । त्यसैले यो १५ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस हो । दिवसका अवसरमा नेपाल पर्वतारोहन संघ लगायतले आज बिहान र्यालीसहित विविध कार्यक्रमको आयोजना गरेको छ ।
पहिलो सगरमाथा आरोहीद्वय तेन्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीको मृत्युपछि उनीहरुको सम्झनामा अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउन थालिएको हो । शेर्पाको २६ वैशाख २०४३ मा मृत्यु भएको थियो भने हिलारीको २७ पुस २०६४ मा निधन भएको थियो ।
वि सं २०६४ सालमा सोलुखुम्बुको लुक्ला विमानस्थलाई तेन्जिड हिलारी विमानस्थल कायम गरिएको थियो भने चोयू र सगरमाथाबीचमा रहेका ७ हजार मिटरका दुई हिमाललाई दुवै आरोहीको नाममा एउटालाई तेन्जिङ र अर्कोलाई हिलारी पिक नामकरण गरियो । तर तेन्जिडले पछि नेपाली नागरिकता त्यागेर भारतीय नागरिक बनेका थिए । त्यसैले नेपाली नागरिकको रुपमा सगरमाथा चढ्ने पहिलो नेपाली हुन् फु दोर्जी शेर्पा । जसकोबारे आजसम्म नेपाल सरकारले केहि गर्न सकेको छैन, सम्झनायोग्य कुनै कदम उठाएको पनि देखिदैन ।
सगरमाथामा अहिलेसम्म करीब ७ हजार जनाले पाइला टेकिसकेका छन् । पछिल्ला वर्षमा पाँच सय जना भन्दा बढीले सगरमाथा चुम्न थालेका छन् । सगरमाथा आरोहणका लागि भने वर्षेनि १५ सय जना आधार शिविर पुग्ने गरेको बताइन्छ ।
सर्वोच्च हिमाल सगरमाथा ८ हजार ८४८ मिटर आरोहणका क्रममा हालसम्म करिब ३ सय जनाको निधन भइसकेको छ भने आरोहणका विभिन्न नयाँ विश्व किर्तिमान पनि कायम भइरेका छन् ।
जापानी नागरिक स्व। जुन्को तावेईको नाममा विश्वकै पहिलो महिला सगरमाथा आरोहीको कीर्तिमान रहेको छ ।
सोलुखुम्बुकी स्व पासाङल्हामु शेर्पाको नाममा सगरमाथा चढ्ने प्रथम नेपाली महिला आरोहीको कीर्तिमान रहेको छ, उनले वि.सं २०५० वैशाख १० गते सगरमाथाको आरोहण सफलतापूर्वक सम्पन्न गरेकी थिइन् तर शिखरबाट फर्कने क्रममा उनको निधन भयो ।
नेपालकै विख्यात सगरमाथा आरोही ५२ वर्षीय कामिरिता शेर्पाले केहि हप्ता अघि आफ्नै नामको बिश्व रेकर्डलाई तोडेर २६ औँ पल्ट सगरमाथाको सफल आरोहण गरेको नयाँ बिश्व रेकर्ड राखेका छन् ।