सुनसरी । धरान उपमहानगरपालिकाको मेयरमा निर्वाचित हर्कराज राई (साम्पाङ) ले महङ्गो सवारी साधन प्रयोग नगरी जनताको सेवा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
ठूला राजनीतिक दल नेकपा एमाले र नेपाली कांग्रेसका चर्चित उम्मेदवारलाई पराजित गर्दै स्वतन्त्रबाट प्रमुखमा विजयी साम्पाङले सुविधाको महङ्गो सवारी साधन प्रयोग नगर्ने उद्घोष गर्नुभएको हो ।
उहाँले सामाजिक सञ्जालमा पोष्ट गरि आफू जनताको सेवक भएकाले महँगो गाडी नचढ्ने र आफूसँग भएको पुरानो मोटरसाइकल चढेर जनताको सेवा गर्ने बताउनुभएको हो । ‘म करोडौं पर्ने गाडी चढेर हिँडे भने बाटोका खाल्डा र भत्केका सडक देखिँदैनन्, त्यसैले म सडकमै हिँडन चाहन्छु, किनकी ती भत्केका खाडल पुर्नेछु, बिग्रिएका बाटो मर्मत गर्नेछु’, उहाँले लेख्नुभएको छ ।
धरानमा सामाजिक सरोकारका विषयमा आवाज उठाउँदै आउनुभएका राईले सामाजिक सञ्जालबाटै समस्या परे फोन गर्न आफ्नो निजी नम्बर वितरण समेत गर्नुभएको छ । ‘पानी नआउने, लाइन नआउने, बेथिति र अनियमितता भएको अवस्था छ, भने मलाई कल गर्नु होला ९८१९०१२३७१ र ९७४६९६५१९८०, तपाईको सेवक, जय धरान’, उहाँले लेख्नुभएको छ ।
तर यता उपमहानगरपालिका प्रशासन महाशाखाअन्तर्गत स्टोर विभागले भने प्रमुखका लागि चालकसहित को १ ज ६४० नम्बरको आरामदायी स्कोर्पियो तयारी अवस्थामा राखिदिएको छ ।
यस्तै उपप्रमुखका लागि पनि गाडी तयारी अवस्थामा राखिएको प्रशासन महाशाखा प्रशासकीय अधिकृत गणेश खतिवडाले जानकारी दिनुभयो । ‘हामीले उहाँहरुले पाउने सेवा सुविधा तयारी अवस्थामा राखेका छौँ, सुविधा लिने वा नलिने भन्ने उहाँहरुको इच्छा हो’, अधिकृत खतिवडाले बताउनुभयो । मङ्गलबार पदभार ग्रहणपछि प्रमुख राई उपमहानगरपालिका पुग्नुभएको छैन ।
आफू जनताका आधारभूत र अति आवश्यक समस्या समाधान नभएसम्म फिल्डमै हुने प्रमुखमा विजयी हुने बित्तिकै उहाँले घोषणा गर्नुभएको थियो । लामो सयमदेखि सामाजिक अभियानमा लागेका साम्पाङले चुनावको मुद्दा नै खानेपानी बनाउनुभएको थियो । एमङ्गलबार पदभार ग्रहण गर्दै उहाँले पहिलो चरणमै खानेपानी वितरणलाई चुस्त बनाउँदै चुहावट रोक्ने प्रतिबद्धता जनाउनुभएको छ ।