काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत सामाजिक सुरक्षा भत्ताको दायरा वा दर वृद्धि गर्ने भएको छ।
सामाजिक सुरक्षाअन्तर्गत ज्येष्ठ नागरिकलाई दिइने वृद्धभत्ताको दर र दायरालाई प्राथमिकतामा राखेर अहिले दुई विकल्पमा छलफल भइरहेको हो।
प्रधानमन्त्री शेरबहादुर देउवाले योभन्दा अघिको कार्यकाल छोड्नुअघि अर्थात् २०७४ सालमा नै ६५ वर्ष उमेर कटेकाहरुलाई वृद्धाभत्ता दिने निर्णय गर्नुभएको थियो ।
अहिले पुनः प्रधानमन्त्री देउवाको सरकारले वृद्धभत्ता पाउनेको उमेर समूह घटाउने योजना बनाएको छ । सोहीअनुसार यही १५ गते आउने नयाँ आर्थिक वर्षको बजेटमै सामाजिक सुरक्षा भत्ताबारे निर्णय गर्ने तयारी भएको छ।
सरकारले बजेटको सम्पूर्णजसो तयारी पूरा गरिसकेको छ। राष्ट्रिय परिचय तथा पञ्जीकरण विभागका अनुसार अहिले सामाजिक सुरक्षा भत्ता पाउनेको संख्या ३२ लाख ३५ हजार हाराहारीमा छ। यो संख्या गत वर्षको हो। यो वर्ष त्यो संख्या घटेको अनुमान विभागको छ।
सरकारले गत वर्ष सरकारी कोषबाट निवृत्तिभरण सेवा लिइरहेकालाई सामाजिक सुरक्षा भत्ता नदिने निर्णय गरेको थियो। यसअनुसार ८४ हजार ७ सय जनाले दुईतर्फी सेवा लिइरहेको हुनसक्ने विभागको अनुमान छ ।
त्यसकै लागि अहिले स्थानीय तहसँग ट्याली गराउने काम भइरहेको छ। यसअनुसार २४ सय ६६ जनाको नाम कटौती नै भइसकेको विभागले जनाएको छ।
यसरी सामाजिक सुरक्षाको भत्ता पाउनेको संख्यामा गिरावट हुने अवस्था सिर्जना भइरहँदा भत्ता दरभन्दा उमेर समूहलाई कम गराएर भत्ता दिने तयारीमा सरकार लागेको हो। तर हालसम्म यसबारे निर्णय नभएको अर्थ मन्त्रालयले जनाएको छ।
हाल सरकारले ७० वर्षभन्दा माथि उमेरकालाई मासिक ४ हजार रुपैयाँ भत्ता दिइँदै आएको छ । अब यस्तो भत्ता पाउनसक्ने उमेर ६५ वर्ष बनाउने सरकारको तयारी छ ।
यसबाहेक सरकारले उमेरभन्दा पनि वृद्धभत्ताको रकम बढाउने विकल्प समेत अघि सारेको छ। यसो भए अहिले ७० वर्ष पुगेकोलाई ४ हजार रुपैयाँ दिइरहेकोमा ५ सय रुपैयाँ बढाउन सक्ने अर्थमन्त्रालय स्रोतको भनाइ छ।
यो वर्ष सामाजिक सुरक्षा शीर्षकमा कुल ७५ अर्ब रुपैयाँ खर्च हुने सरकारको अनुमान छ। अर्थ मन्त्रालयका अनुसार उमेर समूह ६५ वर्ष बढाउँदा २५ देखि ३० अर्बभित्र पुग्ने अनुमान छ।