काठमाडौँ । साताको दुई दिन विदा दिने सरकारको निर्णय एक सातापछि नै तोडिएको छ ।
इन्धन बचत गर्न भन्दै सरकारले साताको दुई दिन शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको थियो । जेठ १ देखि कार्यान्वयनमा ल्याएको विदाको निर्णय एक सातापछि नै स्वास्थ्य संस्था, निजी विद्यालयसँगै काठमाडौं महानगरपालिकाले अवज्ञा गरेका हुन् ।
काठमाडौँका ठूला अस्पतालहरुले आइतवार पनि सेवा सुचारु राखेका छन् ।
वैशाख १४ गतेको मन्त्रीपरिषद् बैठकले गरेको निर्णयअनुसार गृह मन्त्रालयले राजपत्रमा प्रकाशित गरी जेठ १ गतेदेखि आइतबारदेखि बिदा दिने निर्णय गरेको थियो । तर, शनिवार र आइतवार लगातार दुई दिन बिदा हुँदा बिरामी मारमा पर्ने भन्दै काठमाडौँका ठूला अस्पतालहरुले आइतवार पनि सेवा दिएका हुन् । शिक्षण अस्पताल, कान्ति बाल अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, सहिद गङ्गालाल हृदय रोग केन्द्र, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा आइतवार पनि निरन्तर सेवा उपलब्ध हुनेछ । वीर अस्पतालले भने सरकारको दुई दिन बिदा दिने निर्णयलाई कार्यान्वयन गरी आइतवार सेवा बन्द गर्ने निर्णय गरेको छ ।
यसैबिच, काठमाडौँ महानगरपालिकाले पनि आज आइतबार कार्यालय खुला गरेको छ । कामपाले आईतबार निजी कार्यालय बन्द नहुने र ती कार्यालयको राजश्व संकलन गर्नुपर्ने भएकाले आइतबार बिहान ८ देखि ११ बजेसम्म कार्यालय खुला गरिएको कामपाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेलले जानकारी दिनुभयो । आर्थिक वर्ष सकिन दुई महिना मात्र बाँकी रहेकाले राजस्व संकलन गर्न यस्तो व्यवस्था गरेको पनि उहाँले स्पष्ट पार्नुभयो ।
यस्तै, आइतबार बिदा दिने सरकारी निर्णयप्रति आपत्ति जनाउँदै अधिकांश शिक्षण संस्थाले आइतबार पनि पठनपाठन जारी राखेका छन् । प्याब्सन र एन प्याब्सन काठमाडौंले संयुक्त सूचना जारी गर्दै विद्यालय खुला गर्ने निर्णय गरेअनुरूप आज उपत्यकाका निजी विद्यालय खुला हुने भएका छन् ।