काठमाडौं । प्रतिनिधिसभाको बैठकले विभिन्न आठ अध्यादेश स्वीकृत गरेको छ ।
संसदको शुक्रवार बसेको बैठकले ती अध्यादेशहरु स्वीकृत गरेको हो । गृहमन्त्री बालकृष्ण खाणले बैठकमा ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७८, ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८’ र ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुभयो ।
यसैगरी स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाका तर्फबाट राज्यमन्त्री भवानीप्रसाद खापुङले ‘औषधी (तेस्रो संशोधन) अध्यादेश, २०७९’ र ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७९’ एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेनुकुमारी यादवले ‘रेल्वे अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
त्यस्तै कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)का तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ‘फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८’ र ‘यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
प्रतिनिधिसभाको अर्को बैठक यही जेठ १० गते साँझ ६ बजे बस्नेछ । त्यसअघि सोही दिन राष्ट्रपति विद्यादेवी भण्डारीले अपरान्ह ४ बजे आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम पेश गर्नुुहनेछ ।