काठमाडौं । काठमाडौं महानगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट मेयरकी उम्मेदवार सिर्जना सिंहले जित्ने आश अझै नमरेको बताउनुभएको छ ।
राष्ट्रियसभा गृहस्थित मतगणनास्थलमा पहिलोपटक पुग्नुभएका सिर्जनाले आफू जित्ने आशा अझै रहेको बताउनुभएको हो ।
‘कतिपय वडामा हामी जितिरहेका छौं, अझै पनि जित्ने आशा छ । वडाहरूमा पनि राम्रै आइरहेको छ । नआएका वडाहरूमा गुड फाइट दिइरहेका छौं,’ सिर्जनाले भन्न्ुभयो ।
अहिले मतपरिणामलाई आफूले सहज रूपमा लिइरहेको भन्दै मतगणना अझै बाँकी रहेकाले अहिले मत परिणामबारे बोल्दा हतार हुने उहाँले बताउनुभयो ।
‘मैले सहज रूपमै लिएकी छु । मैले एक भोटको पनि सम्मान गर्छु । त्यो विषयमा मैले ध्यान दिएकी छैन । सबै परिणाम आइसकेपछि बोल्छु,’ उहाँले भन्नुभयो, ‘अहिले नै मतपरिणामबारे बोल्दा हतार हुन्छ । सकिसकेको वडाहरूमा यो भन्दा राम्रो हुनुपर्थ्यो भन्ने हो । सोचेको भन्दा कहीँ नराम्रो पनि भएको छ कहीँ राम्रो पनि भएको छ ।’
स्वतन्त्र उम्मेदवारले के कारणले बढी मत पाइरहेका छन् भन्ने विषयमा अहिले नै बोल्दा हतार हुने उहाँको भनाइ छ । अझै पनि मतगणना बाँकी नै रहेकाले जितबारे अहिले नै भन्न सकिने अवस्था नरहेको उहाँले बताउनुभयो ।
काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साह अग्रस्थानमा हुनुहुन्छ । दोस्रो स्थानमा एमालेका केशव स्थापित र तेस्रो स्थानमा सिर्जना रहनुभएको छ ।