काठमाडौं । २०७४ मा निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरुको पदावधि बिहीबारबाट जेठ ५ राति १२ बजेबाट सकिँदैछ।
संविधानको व्यवस्था अनुसार २०७४ मा निर्वाचित सबै जनप्रतिनिधिको कार्यकाल एकैपटक सकिन लागेको हो ।
संविधानको धारा २१५ को उपधारा ६ मा रहेको गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र सदस्यको पदावधि निर्वाचित भएको मितिले पाँच वर्षको हुने व्यवस्था र धारा २१६ को उपधारा ६ मा रहेको नगरपालिकाको प्रमुख,उपप्रमुख, वडा अध्यक्ष र सदस्यको पदावधि निर्वाचित भएको मितिले पाँच वर्षको हुने व्यवस्था अनुसार २०७४ मा निर्वाचित जनप्रतिनिधि बिदा हुने भएका हुन्। यससँगै मतगणना सम्पन्न नभएका पालिका जनप्रतिनिधिविहीन हुने अवस्था आएको छ।
निर्वाचन आयोगका अनुसार हालसम्म ७५३ स्थानीय तहमध्ये केहि स्थानमा बाहेक मतदान सम्पन्न भई मतगणनाको चरणमा छ। आयोगले बुधबार साँझ ७ बजेसम्ममा ४७५ स्थानीय तहको मतगणना सकिएका र २७८ पालिकाको मतगणना बाँकि रहेको जानकारी दिएको छ। यसबाहेकका पालिकामा भने मतगणना जारी छ। आयोगका सहप्रवक्ता सुर्यप्रसाद अर्यालका अनुसार बिहिबारसम्ममा ९० प्रतिशत मतगणना सक्ने तयारी अनुसार मतगणना भईरहेको छ।
आयोगले केहि स्थानमा निर्वाचित जनप्रतिनिधिले सपथ समेत लिइसकेको जानकारी दिएको छ। बिहीबार राती १२ बजेसम्म महानगरपालिका र उपमहानगरपालिका बाहेक ९० प्रतिशत स्थानीय तहको नतिजा आइसक्ने उहाँले बताउनुभयो । त्यसबाहेक केहि स्थानमा पुनः मतगणना गर्ने या भएको मतगणनालाई मान्यता दिने भन्ने विषयमा आयोगले निर्णय गरेपछि यस पटकको स्थानीय तह निर्वाचन सम्पन्न हुनेछ।
२०७४ मा भएको स्थानीय तह निर्वाचन तीन चरणमा सम्पन्न भएको थियो। २०७४ वैशाख ३१, असार १४ र असोज २ मा गरी तीन चरणमा निर्वाचन भएको थियो।