काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको औपचारिक भ्रमणको सिलसिलामा भोली सोमबार लुम्बिनी आउदै हुनुहुन्छ । लुम्बिनीमा ६ घण्टा बिताएर उहाँ सोमबार नै स्वदेश फर्कने कार्यक्रम छ ।
नेपाल आउनु अघिल्लो दिन एक वत्तव्य जारी गर्दै मोदीले नेपालसँग भारतको सम्बन्ध अद्धितीय रहेको बताउनुभएको छ । भारत र नेपालबीच सभ्यता तथा जनताहरुबीचको आपसी सम्पर्कले दुई देशको घनिष्ट सम्बन्धलाई स्थायित्व प्रदान गरेको पनि उहाँले उल्लेख गर्नुभएको छ । वत्तव्यमा उहाँले लेख्नुभएको छ ‘मेरो यात्राको उदेश्य समयसँगै मजबुत भएको यस सम्बन्धको उत्सव मनाउनु र यसलाई अझ प्रगाढ बनाउनु रहेको छ ।’
प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणमा उहाँ नेपाल आउन लाग्नुभएको हो । वुद्ध जयन्तीको अवसरमा गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा आयोजना गरिने विभिन्न कार्यक्रममा सहभागी हुन मोदी नेपाल आउन लाग्नुभएको हो ।
‘म बुद्ध जयन्तीको अवसरमा मायादेवी मन्दिरमा पूजा अर्चना गर्नको लागि उत्सुक छु । लाखौं भारतीयले जस्तै भगवान बुद्धको पवित्र जन्मस्थलमा श्रद्धा अर्पण गर्ने अवसर पाउँदा सम्मानित महसूस गरेको छु,’ भारतीय प्रधानमन्त्री मोदीले भन्नुभएको छ ।
वत्तव्यमा उहाँले गत महिना प्रधानमन्त्री देउवाले गरेको भारत भ्रमणको पनि स्मरण गर्नुभएको छ । उहाँले प्रधानमन्त्री देउवासँग भेट्न आफू उत्सुक रहेको पनि उल्लेख गर्नुभएको छ ।
जलविद्युत, विकास र कनेक्टिभिटी लगायतका क्षेत्रमा सहयोग विस्तार गर्ने विषयमा साझा समझदारी निर्माण गर्ने कार्यलाई निरन्तरता दिने उहाँले बताउनुभएको छ ।
‘पवित्र मायादेवी मन्दिरको यात्राको अलवा म लुम्बिनी क्षेत्रमा निर्माण हुने ‘इण्डिया इन्टरनेसनल सेन्टर फर बुद्धिस्ट कल्चर एण्ड हेरिटेज’ को शिलान्यास समारोहमा पनि सहभागी हुनेछु,’ मोदीले उल्लेख गर्नुभएको छ ।
भारतीय प्रधानमन्त्री मोदी सोमबार विहान ११ बजे भारतीय वायु सेनाको हेलिकप्टरमा लुम्बिनी आउने कार्यक्रम छ । उहाँ सोमबार बेलुकी ५ बजे स्वदेश फर्कनुहुनेछ ।