काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्नो अग्रता दोब्बरले बढाएका छन् ।
आइतवार दिउँसो ३ बजेसम्मको मतपरिणामअनुसार बालेनले दुई हजार ८२० मत ल्याएर अग्रता कायमै राखेका छन् ।
उनलाई पछ्याउँदै आएका एमालेका उम्मेदवार केशव स्थापितले एक हजार ५०७ मत ल्याएका छन् । कांग्रेसकी सिर्जना सिंह एक हजार ४४९ मत पाएर तेस्रो स्थानमा छिन् ।
उपमेयरमा एमालेकी सुनिता डंगोल दुई हजार २३२ मतका साथ अग्र स्थानमा छिन् । उनलाई पछ्याउँदै एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ६४७ मत ल्याएका छन् । हलो चिन्हले हलो ५२१ मत पाएको छ ।
मेयरतर्फ ढल्केको छाता १, तराजु २८, हलो २३३, खड्ग ५, सुगा १, तीर ६, साँचो १, किताब ४, मकैको घोगा १, पुतली १, रिक्सा १, आँखीझ्यालले २२१ मत पाएका छन् ।
उपमेयरतर्फ गोलाकारभित्रको हसिँया हथौडा दुई, ढल्केको छाता १, तराजु ९६, मादलले १ पाएका छन् ।
काठमाडौं महानगरको मतगणना निकै ढिलाइ भइरहेको छ । मतगणनामा ढिलाइ भइरहेको भन्दै चौतर्फी गुनासो आएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले एक मतगणनास्थल थप गरेको छ । अहिले ३१ नम्बर वडाको पनि मतगणना भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
योसँगै अहिले ६ ठाउँबाट मत गणना भइरहेको छ । अहिले वडा नम्बर १,२,३,४, ३१ र ३२ वडाको मत गणना एक साथ अघि बढिरहेको छ । केही वडाको मत गणना अन्तिम चरणमा पुगेको छ ।