काठमाडौं । निर्वाचन आयोगले शुक्रबार देशभर हुने स्थानीय तहको निर्वाचनको मतगणना एक साताभित्र सम्पन्न गर्ने योजना बनाएको छ ।
शुक्रवार बिहान ७ देखि साँझ ५ बजेसम्म देशभरै मतदान गर्न समय तोकिएको छ।आयोगले १० हजार ७५६ मतदान स्थल र २१ हजार ९५५ मतदान केन्द्र तोकेको छ।
मतदान सकिएसँगै बुथहरूबाट मतपेटिका संकलन गरी मतगणना सुरू हुनेछ। मतगणना गर्ने सबै अधिकार निर्वाचन अधिकृत कार्यालयको जिम्मामा भएको आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।
आयोगले मतगणना छिटोभन्दा छिटो सकाउन निर्देशन दिएको उहाँले बताउनुभयो । त्यसको लागि निर्वाचन अधिकृतले आवश्यकताअनुसार टोली गठन गर्न पाउने उहाँले बताउनुभयो ।
मतगणनालाई छिटो र व्यवस्थित बनाउन आवश्यक लजिस्टिक सपोर्ट, पैसासहित अन्य सहयोग आयोगले उपलब्ध गराउने उहाँले जानकारी दिनुभयो ।
आयोगका अनुसार मतगणना गर्न विशेषगरी ६ वटा महानगरपालिकामा बढी समय लाग्छ। उम्मेदवार धेरै भएका कारण महानगरपालिका, उपमहानगरपालिकाहरूमा अरूको तुलनामा मतगणना गर्न धेरै समय लाग्ने हो।
आयोगले यसपालि छिटो एक सातामै सक्ने गरी तयारी गर्न भनेको छ।
यसअघि २०७४ मा पहिलो चरणको स्थानीय तह निर्वाचनमा वैशाख ३१ गते भएको थियो। काठमाडौंको मतगणना भने जेठ १४ गतेमात्रै सकिएको थियो।